वैदेशिक रोजगारमा फेरि पहिलो गन्तव्य मलेसिया, पछि पर्‍यो कतार

नेपाली कामदारका लागि वैदेशिक रोजगारको पहिलो गन्तव्य मलेसिया बनेको छ।

चालु आर्थिक वर्षको त्रैमासिक अवधिमा सबैभन्दा धेरै नेपाली रोजगारका लागि मलेसिया पुगेका छन्। साउन, भदौ र असोज तीनै महिनामा मलेसिया जाने नेपालीको संख्या सबैभन्दा धेरै छ। जवकि गत आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कतार जाने नेपालीको संख्या सबैभन्दा धेरै थियो।

जेठ २२ देखि कतारमाथि छिमेकी देशहरुले नाकाबन्दी गरेसँगै कतारको रोजगारी प्रभावित भएको सम्बद्ध अधिकारीहरु बताउँछन्। वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता मोहन अधिकारीका अनुसार पछिल्लो समय मलेसिया सुरक्षित बन्दै गएको छ भने कतारमा छिमेकीको नाकाबन्दीको प्रभावले कतारमा जानेको संख्या घटेको हो।

‘कतारमा त्यस्तो ठूलै समस्या देखिएको त होइन, तर निर्माण क्षेत्रमा कामदारको माग घटेको छ, साउदी अरब आफै आर्थिक मन्दीको अवस्थामा गुज्रिएको छ, त्यसकारण मलेसिया पछिल्लो दिनमा उत्कृष्ट गन्तव्य बनेको हो’ अधिकारीले सेतोपाटीसित भने। दुई वर्षअघिसम्म त्यति सुरक्षित नभएको मलेसिया अहिले क्रमिक रुपमा सुरक्षित र भरपर्दो बन्दै गएको व्यवसायीहरु बताउँछन्।

कतारमाथि साउदी अरबको नेतृत्वमा छिमेकी देशले लगाएको प्रतिबन्धका कारण त्यहाँबाट माग कम भएको र नेपालीको जाने चाहना पनि घटेको व्यवसायीको भनाइ छ। वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङ खाडी मुलुकमा रमजान पर्व पर्नु र नेपालको दसैँ तिहारले गर्दा ति देशमा जानेको संख्या कम हुँदा पनि मलेसिया अगाडि देखिएको बताउँछन्।

‘छिमेकी देशहरुको प्रतिवन्धले पनि कतारको रोजगारमा धेरै हदसम्म प्रभाव परेको हो’ उनले भने ‘तर तीन महिनाको अवधिलाई मात्रै हेरेर पनि हुँदैन, आगामी दिनमा यो ट्रेन्डले निरन्तरता नपाउन सक्छ।’

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालु आवको तीन महिनामा ३१ हजार २ सय ७७ जनाले मलेसियाका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। यो अवधिमा कुल ८४ हजार ७७६ जनाले संस्थागततर्फबाट अन्तिम श्रम स्वीकृति लिएकोमा मलेसियाको हिस्सा मात्रै ३६ दशमलव ८९ प्रतिशत छ।

त्यस्तै तीन महिनामा कतारका लागि २० हजार २९१, दुबईका लागि १४ हजार ३, साउदी अरबका लागि ११ हजार ४१९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने बाँकी अन्य देशका लागि छन्।

गत आर्थिक वर्षको तीन महिनामा भने कतारका लागि सबैभन्दा धेरै २७ हजार ६२० जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए। सोही अवधिमा कुल ८८ हजार ५५३ जनाले अन्तिम श्रम स्वीकृति लिएकोमा कतारको हिस्सा ३१ दशमलव १९ प्रतिशत हो। गत वर्ष कतारपछि साउदी अरबका लागि २५ हजार ६९९, मलेसियाका लागि १९ हजार १८० र दुबईका लागि ११ हजार ७० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

चालु आवका साउन, भदौ र असोज महिनामा प्रदान अन्तिम श्रम स्वीकृति

Share on Google Plus
>

1 comments: